जीवन र जिन्दगी

मान्छे जन्मने र मर्ने कुरा यौटा अद्‌भुत महासंयोग हो । यसबारेमा चिन्ता लिइराख्नुको कुनै औचित्य छैन । यिनै दुई घटना जीवनको आदि र अन्त्यका किनारा हुन् । मलाई यस्तो लाग्छ, जीवन मान्छेको आदिदेखि अन्त्यसम्मको समय हो भने जीवनका धेरै ससाना घटनाहरुको संयोग नै जिन्दगी हो ।

जीवन र जिन्दगी एउटै कुरा होइन रहेछ ।

यो संसारमा अस्तित्वको सुरुवात हुनेबित्तिकै म गाउँले भइसकेको थिएँ । जबकि त्यतिबेला कान्छो हुने निश्चय समेत भइसकेको थिएन । गाउँले हुनु र परिवारको कान्छो सदस्य हुनु जीवनको विषय नभएर जिन्दगीका कुरा रहेछन् ।

जीवन निश्चित छ । तर, गाउँले हुँदा र नहुँदा, कान्छो हुँदा र नहुँदा जिन्दगीमा धेरै फरक पर्दोरहेछ ।

आकाश खस्ने हल्ला चलेकै साल मैंले हल्लाहरुमाथि विश्वास गर्दोरहेछु भन्ने चाल पाएको थिएँ ।

अर्को साल सनु, रामु, यादव र म लगायतका भुराहरु एउटा लाठेमाथि जाइ लागेर उसलाई जितेपछि एकता नै बल हो भन्ने पुष्टि भएको थियो । केही महिनापछि दिउँसै आकाशमा एउटा चम्किलो वस्तु देखियो । विज्ञान विषयको शिक्षकले त्यो चिहानडाँडामा राखिएको ऐनाको ‘रिफ्लेक्सन’ भएको दाबी गर्नुभयो । विज्ञानले भ्रमहरु चिर्न सक्छ भन्ने रहस्य त्यतिबेलै खुलेको थियो ।

चार/पाँच कक्षा पढ्ने बेला विभिन्न प्रतियोगिता जितेर सबैलाई चकित पारियो । त्यसपछि मात्रै हामी कमजोर/गरीब भनाउँदा मान्छेहरु सबै क्षेत्रमा गरीब हुँदा रहेनछौं भन्ने लागेको हो । जिन्दगी यसरी नै अघि बढ्दैछ ।

आखिर जीवनको अन्तिम किनारा भेट्नु नै मान्छेको सबैभन्दा महत्वपूर्ण कर्म रहेछ !