हामी सङ्घारमै हुन्छौं – कविता

स्वतन्त्रता खोज्दै सडकमा निस्कन्छन्
रुबिन र छायाँदेवीहरु
उता, यौटा राष्ट्रवादीको शव
पार्टीको झन्डाले ढाकिएको हुन्छ
मोक्षप्राप्तिको लागि तीर्थवास बस्छन्
हजुर्बा-हजुरआमाहरु
अनि, चन्द्रग्रहण लाग्दा
चमारले चन्द्रमालाई घेरेको भन्छन्
हाम्रो बुझाइमा प्रश्नचिन्ह लगाउँदै
चन्द्रमामा बस्ती बसाउने प्रयत्न गर्छ नासाले
ठीक त्यही मोडमा
‘अन्तिम भोज’ लेख्छन् विजय मल्लहरु
तर हामी भने
विज्ञान र पुरातन संस्कृतिको
दोहोरो छायाँमुनि
आफ्नै झुपडीको सङ्घारमै हुन्छौं
हो, हामी झुपडीको सङ्घारमै हुन्छौं

मिर्मिरे मासिक, अङ्क २५१