सर, वी विल नेभर बी टुगेदर

एकपल्ट गाउँलेहरुले ‘ससुरालीले सूर्य चिन्हमा छाप लगाउन अह्राएकाले हार्न सकेन’ भनेर काकाको बारेमा कुरा गर्ने गरेको सुनेको थिएँ । खासमा उहाँले सूर्यमा नै छाप हान्नुभएको हो वा त्यसो गर्नुभएन मलाई अहिलेसम्म पनि थाहा छैन । तर त्यही खासखुस र खिसीटिउरीले नै मेरो राजनैतिक चेतनाको क्षितिज उघ्रिएको थियोे ।

गाउँमा रुख, सूर्य र हलो चिन्हको विषयमा कहिलेकाहीं चर्काचर्की नै हुन थालेपछि मान्छेहरुको चुनाव चिन्ह प्रतिको मोहबारे बुझ्न थालेको हुनुपर्छ, मैंले । हामी भुराहरु हाम्रा मान्छेहरुले रुखमा छाप हान्ने गरेको थाहा पाएदेखि नै “नेपाली कांग्रेस जिन्दावाद !” भन्दै लालुपातेका हाँगाहरु बोकेर चिच्याउँथ्यौं । त्यो ध्वनि मूलबाटोसम्म पनि पुग्दैनथ्यो, सायद । मूलबाटोमा निस्केपछि भने रुखका पक्षमा नाराबाजी गर्ने हिम्मत नै आउँदैनथ्यो ।

एस.एल.सी. परीक्षा दिनुअघि तीनजना सँगै बसेर परीक्षाको तयारी गर्नको लागि घनश्याम दाई हामीकहाँ आउनुभयो । एकदिन परीक्षाको तयारीका लागि संग्रह गरिएका नोट, किताब, गेसपेपर आदिलाई व्यवस्थित पार्नको लागि मैंलेमात्रै प्रयोग गर्ने गरेको सानो टिनको बाकस उघारें । घनश्याम दाई टुप्लुक्क आइपुग्नुभयो ।

दुवैजना मिलेर पुराना किताब–कापी खोतल्न थाल्यौं । किताबको चेपमा राखिएका दुईवटा स्टिकर फेला परे । जसमा ‘तालुखइले’ गिरिजाप्रसाद कोइरालाको तस्वीर र एउटा रुखको चित्र थियो । ती स्टिकरहरु दुईचार वर्षअघि केशब दाई कुनै चुनावी आमसभामा गएर आउँदा ल्याउनुभएको थियो । गोलाकार, चम्किलो स्टिकर देख्नेबित्तिकै लोभिएर दाजुसँग दुईवटा स्टिकर मागेर राखेको थिएँ ।

खासमा मलाई रुख वा गिरिजाप्रसादप्रति उतिसारो रुचि थिएन । गिरिजाप्रसाद कोइराला, कांग्रेस पार्टी र रुख चिन्हभन्दा पनि स्टिकरको आकर्षक डिजाइनले लोभ्याएर हुनुपर्छ, त्यसलाई कतै टाँसिहाल्न नसकेर बाकसभित्र किताबको चेपमा राखेको थिएँ । राख्दाराख्दै त्यत्तिकै बिर्सिएको स्टिकर अचानक भेटिएको थियो । स्टिकर देखिनासाथ हत्पत् झिकेर दाईले भन्नुभयो — ‘गिरिजाको फोटो भएको स्टिकर बाकसको कुनामा राख्ने तैंले ?’ उहाँको अनुहारमा एकाएक आक्रोशका रेखाहरु देखिन थाले । दाई त्यसरी रिसाएको देखेर म छक्क परें ।

एउटालाई टुक्रा–टुक्रा पारिदिनुभयो । अर्काेचाहिं मलाई दिनुस् भनेर जिद्दी गर्दागर्दै जलाइदिनुभयो । आफूले खुब जतन गरेर राखेको स्टिकर खरानी भएपछि मेरो मन हुरुक्क भएर आयो । एकछिन मुर्मुरिएँ । तर अब जेसुकै गरे तापनि त्यो फिर्ता हुनेवाला थिएन । न त त्यसको कुनै क्षतिपूर्ति हुने सम्भावना नै बाँकी थियो ।

निमेषभरको त्यो घटनाले मलाई राजनीतिक विचारधाराको सामथ्र्यबोध भयो । मैंले जीवनमा पहिलोपटक राजनैतिक पूर्वाग्रहको चरम रुप अनुभव गरेँ । मलाई एकदमै माया गर्ने दाईको व्यवहारबाट । एउटा चुनाव चिन्हको समर्थकले किन आफ्नै भाईलाई रुवाएर अर्काे पार्टीको चुनाव चिन्ह जलाइदियो ? मैंले यो कुरा बुझ्न सकिनँ ।

एस.एल.सी. परीक्षा पास भएपछि पनि मलाई घनश्याम दाईसँगको त्यो दिनको खोसाखोस र चित्तदुखाइ नै राजनीति हो भन्ने लागिरह्यो । राजनीति भनेको बनाउनको लागि, जुटाउनको लागि र खुशी हुनको लागि होइन रहेछ जस्तो लाग्न थाल्यो । मेरो बुझाइलाई त्यतिखेर उत्कर्षमा पुगेको सरकार र माओवादीबीचको द्वन्दले पनि बल पुर्‍याइरहेको थियो ।

एकातर्फ सरकारले माओवादीको आशंकामा जनतालाई तर्साउँथ्यो, सताउँथ्यो । अर्काेतिर माओवादी पार्टीले पनि सरकारको संयन्त्रलाई कमजोर पार्ने भन्दै जनताका आधारभूत आवश्यकताको क्षेत्रमाथि धावा बोल्थ्यो । बन्द, हडताल, चक्काजाम, बम विस्फोट, आक्रमण, कारबाही, चेकजाँच आदि विभिन्न स्वरुपमा द्वन्द प्रकट भइरहेकै थियो । जनताले ‘साँढेको जुधाईमा बाच्छाको मिचाई’ भनेजस्तै अवस्थामा बाँचिरहेका थिए ।

यसैबीच मेरो एकजना समकक्षी साथी माओवादी राजनीतिमा हाम फाल्यो, कमरेड ‘निशान’ बनेर । कहिलेकाहीं ऊसँग भेट हुन्थ्यो । ऊ भन्थ्यो – ‘सामन्ती राजतन्त्र नढल्दासम्म नेपालको उन्नति सम्भव छैन । त्यसको लागि हामी युवाहरु युद्धमा होमिनुको विकल्प छैन ।’ ऊ आफ्नै तहको साथी भएकोले हुनुपर्छ, मैंले उसका साराका–सारा कुराहरु एक कानले सुनेर अर्काेले उडाइदिन्थें । मलाई राजनीति भन्ने कुरामा चाख नै थिएन । द्वन्दकालमा युद्धमा होमिएको मेरो मित्र, नारायण उर्फ कमरेड ‘निशान’ले ‘माक्र्सको जीवनी’ शीर्षकको यौटा किताब मलाई दिएको थियो । उसले दिएको त्यो किताब आजसम्म पनि उही गिरिजाबाबुको स्टिकरजस्तै सुरक्षित छ, मसँग ।

दहथुम उच्चमाविमा प्लस टु पढिरहँदा एकदिन बिहानको खाजा खाने समयपछि कमरेड ‘निशान’ देखियो । ऊसँग अरु एक–दुईजना साथीहरुपनि थिए । केहीबेरमै उसले कक्षा एघार र बाह्रका सबैजसो विद्यार्थीहरुलाई भेला पा¥यो र भन्यो – “साथीहरु हो, अब हाम्रो जित हुँदैछ । यो महान् क्रान्तिको समयमा पनि हामी मौन बस्यौं भने हामीलाई यौटा दाग लाग्नेछ । त्यसैले एकैछिनको कार्यक्रम गरेर भएपनि क्रान्तिमा ऐक्यबद्धता जनाउनुपर्छ ।” म दिपेन्द्रलाई लिएर परीक्षा शुल्क तिर्न लेखा शाखातिर लागें । केहीबेरमै सारा विद्यार्थी उसकै पछि लाग्न थाले, नाराबाजी गर्दै । सबैजना गएको देखेपछि हामी दुईभाईले पनि उनीहरुलाई पछ्याउन थाल्यौं ।

चर्का नाराहरु लगाउँदै निशानको टोलीले जुलुसको नेतृत्व गर्‍यो । बयरघारी बजारमा पुगियो । नेतृत्व गर्ने टोलीले टायर बाल्न चाहिने सामग्रीको जोरजाम गरिसकेको रहेछ । टायर बालियो र कोणसभाको कार्यक्रम चल्न थाल्यो । सिद्धार्थ राजमार्गमा चल्ने सबका–सब गाडीहरु त्यहीं रोकिए । यात्रुहरु रमिते बने । बजारभरि एक किसिमको तमासाजस्तो वातावरण बन्यो । कोणसभा सकिएपछि हामी घर फर्कियौं । बजार र राजमार्ग पहिलेजस्तै सामान्य बन्दै गए । भोलिपल्ट कलेजमा पुग्दा ‘माओवादीमा लागेर त्यो नारायण खत्तमै भयो’ भन्ने प्रिन्सिपल सरले ‘नारायणले ठीक गर्‍यो’ भनेको सुनेर हामी जिल्ल पर्‍यौं । मनमनै सोचें, वाह राजनीति !

दशजोड दुईको अध्ययन सकिँदासम्म मेरो राजनीति त्यही एउटा जुलुसको पछि लाग्नेसम्म पुगेको थियो । बी.एड. पढ्नको लागि काठमाडौं आउने क्रममा नै सुनेको थिएँ — सरकारी क्याम्पस, राजनीतिक अखडा । हो रहेछ । प्राइभेट कलेजतिर लाग्दा समय र पैसा दुवैको भार थपिने भएकाले उपयुक्त लागेन । चुपचाप सरकारी क्याम्पस भर्ना भएँ ।

पहिलो दिन क्याम्पस छिर्नेबित्तिकै थाहा लागिहाल्यो, यौटा विद्यार्थी संगठनको कारणले गर्दा अब उप्रान्त प्रवेश परीक्षा दिनु नपर्ने रे! यससँगै पहिले गाइँगुइँमा मात्रै सिमित ‘क्याम्पसे राजनीति’ प्रस्ट देखिन थाल्यो । विभिन्न किसिमका पर्चा, पोस्टर र तुलहरुले भरिएको क्याम्पस प्रांगणमा अनेकथरी कार्यक्रमहरु हुन्थे । त्यससँगै विभिन्न संगठनका समर्थक विद्यार्थीहरुबीच हुने घम्साघम्सीले मलाई राजनीतितर्फ आकर्षित गर्न सकेन । बरु वितृष्णा पैदा भयो ।

दिनहरु बित्दै जाँदा स्याङ्जाली विद्यार्थीहरुको साझा मञ्च बनाउने भन्ने सूचना प्रकाशित भयो । आफ्नै जिल्लाका विद्यार्थीहरुको बीचमा सम्बन्ध स्थापना हुने अवसर भएकाले मञ्चको सम्पर्कमा पुगियो । अघिल्लो वर्षका साथीहरुले बनाएको कार्यसमितिको खटनपटन अनुसार कार्यक्रममा सहभागी हुँदै पहिलो वर्ष बितेछ । दोस्रो वर्ष सुरु भएपछि फेरि विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन गर्ने सूचना प्रकाशित भयो । यसपालि भने दोस्रो वर्षकै साथीहरुको बाहुल्यता हुने गरी कार्यसमिति बनाउँदा प्रभावकारी हुने प्रस्ताव आएको थियो । त्यसैअनुरुप छलफल चल्दै गर्दा नेपाली कांग्रेस समर्थक विद्यार्थीहरुले चलाखीपूर्ण तरिकाले कार्यसमिति एकलौटी गठन गर्न लागेको गाइँगुइँ चल्यो । यही कुरामा विवाद बढ्दै गयो ।

मञ्चमा प्रत्यक्ष पार्टीगत राजनीति हाबी हुनुहुँदैन भन्ने साथीहरुक धेरै थिए । तिनै साथीहरुको समर्थनमा समय लिएर मैंले भनें – ‘साथीहरु हो, हामी यहाँ केवल भूगोलको नाताले भेला भएका हौं । हामीबीच दोस्रो कुनै समानता नै छैन । त्यसैले स्याङ्जाली भएकै कारणले कांग्रेस पार्टीको वा कम्युनिस्ट पार्टीको समर्थन गर्नुपर्ने कुरा स्वीकार्य हुँदैन । विद्यार्थी मञ्चको नाउँमा प्रत्यक्ष पार्टीगत राजनीति लाद्न पाइँदैन । व्यक्तिगत र विचारधाराको आधारमा मात्रै कुनै पार्टी वा संगठनलाई समर्थन गरिनुपर्छ ।’ अधिकांश साथीहरुको इच्छा पनि त्यही थियो । अन्ततः एकपक्षीय कार्यसमिति निर्माण हुन पाएन । सबैको समर्थनमा कार्यसमति चयन गरियो । यसरी विद्यार्थी मञ्चमा प्रत्यक्ष पार्टीगत राजनीतिको विरोध स्वरुप मैंले सर्वप्रथम राजनैतिक शब्दहरु ओकलें ।

मभित्र राजनैतिक सोचको विकास भइसकेको थिएन । त्यसैले राजनीतिक उदेश्यले आयोजना हुने तथा पार्टीगत रुपमा गरिने कार्यक्रमहरु प्राथमिकतामा पर्दैनथे । तरपनि आफ्नो भूगोल भन्नेबित्तिकै प्रायः कार्यक्रमहरुमा जाने रहर लाग्थ्यो । यत्तिकैमा मित्र, हरिजीसँगको निकटताले स्याङ्जासँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा सहभागी हुने अवसरहरु प्राप्त हुन थाले ।

आफ्नै परिवेशका विभिन्न पेशा र फरक–फरक संघ–संस्थासँग आबद्ध व्यक्तिहरुसँग भेटघाट बढ्दै जान थाल्यो । ती सबै भेटघाटहरु गैर–राजनीतिक भने हुँदा रहेनछन् । यत्तिकैमा ऐतिहासिक संविधानसभा निर्वाचन–२०६४ नजिकिंदै गयो । उक्त चुनावमा सर्वप्रथम भोट हाल्ने अवसर आउने भएपछि चुनावको परिणामको विषयमा हुने अनेकथरी अन्दाज र चर्चा सुन्दै घरतिर लागियो । उता गाउँमा भने काठमान्डुले के भन्छ ? अब के हुन्छ ? भन्दै काठमान्डुबाट जानेहरुको विचार पर्खिरहेका देखिन्थे । मानौं, काठमाडौंले जे भन्छ, त्यही हुन्छ र त्यही सत्य हो ।

गाउँको आफ्नै किसिमको अन्दाज थियो । यी सबै अनुमान र बहससँगै चुनावको दिन आयो । भोट हाल्ने दिन दिदी, म लगायतका पहिलोपल्ट भोट हाल्ने ‘केटाकेटी’हरुले ठूलोबासँग जिस्किँदै राय माग्यौं – ठूलोबा, यसपालि भोट कसलाई दिने हो ? उहाँले सल्लाह दिनुभयो – ‘भरसक आफूले चिनेजानेको मान्छेलाई दिन जाती हुन्छ । तिमीहरु पढेलेखेका छौ आँफै विचार गर ।’ ठूलोबाको अर्तिसामु ‘भोट हालेको दुरबीनले हेर्ने’ र ‘अरुलाई पटक–पटक माओवादीलाई एकपटक’ भन्नेजस्ता कुराहरु एकाएक ओझेलमा परे । माओवादीलाई जिताउनुपर्छ है ! भन्दै गाउँ फर्केका हामीलाई त्यही यौटा अर्तिले गलाईदियो । भोट त चिनेजानेकै मान्छेलाई दिँदा जाती हुने रहेछ भन्ने निष्कर्षमा पुगियो । अनि त्यसदिन हामीले गिरिजाप्रसाद कोइरालाकै पार्टीको चुनाव चिन्ह रुखमा छाप हान्यौं – ढ्याक्क ! ढ्याक्क !! क्रमशः देशभरबाट चुनावको नतिजा आउन थाल्यो । नेकपा माओवादीले देशभरिबाटै सबैभन्दा बढी मत प्राप्त गरी देशको सबैभन्दा ठूलो पार्टी हुन पुग्यो । स्याङ्जा जिल्लाबाट भने नेकपा माओवादीका कुनैपनि उमेदवारले प्रत्यक्ष निर्वाचन जित्न सकेनन् । किन त ? कतै सबै स्याङ्जाली ठूलोबाहरुले हामीलाई जस्तै अर्ति दिएर हो कि !

संविधानसभाको चुनावपछिको हिउँदमा हरिजीको फोन आयो – पर्सि एउटा कार्यक्रम छ, आउनुहोला, भन्दै । आफ्नो जिल्लासँग सम्बन्धित कार्यक्रम भनेपछि हुरुक्कै हुने म त्यो कार्यक्रम छुटाउने कुरै थिएन । तोकिएकै समयमा कार्यक्रमस्थल पुगियो । स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चको अधिवेशन रहेछ । केहीबेरको औपचारिक कार्यक्रमपछि कार्यसमिति गठन गर्नेबारे छलफल सुरु भयो । पार्टीको संस्थागत सदस्यता, सम्पर्क मञ्चको सदस्यता, विद्यार्थी वा भातृसंस्थासँगको निकटता आदि कुनै दायराभित्र नपरे तापनि साथीहरुको आग्रहकै कारण कार्यसमितिमा मनोनयन र समर्थन भयो ।

एकदिन, दुइदिन, चारदिन । एक महिना, दुइ महिना, चार महिना बित्दै गए । विभिन्न कार्यक्रमहरुको लागि निम्तो आउँथ्यो । गोष्ठी, भेला, प्रशिक्षण आदि–इत्यादिमै एक कार्यकाल सकिइसकेछ । सैद्धान्तिक कुराहरु सुन्दा दुनियाँको सर्वाेत्तम सिद्धान्त कम्युनिस्ट सिद्धान्त हो र दुनियाँका सबैभन्दा असल मानिसहरु भनेका कम्युनिस्टहरु हुने भन्नेजस्तो लाग्थ्यो । व्यवहारमा भने त्यस्तो कहिल्यै देखिएन । दोस्रोपटक सोही अधिवेशनको लागि निम्त्याइयो, गएँ । साथीहरुले फेरिपनि कार्यसमितिमा रहेर काम गर्नुपर्ने आग्रह गरे । मैंले आफूलाई प्रत्यक्ष राजनीतिमा उतिसारो रुचि नभएको र आफूसँग पार्टीको सदस्यता समेत नरहेको बताएँ । तरपनि साथीहरुले मेरो पृष्ठभूमि, व्यक्तित्व र भूगोलको कारणले अरु सबैथोक सन्तुलन हुने, पार्टीको सदस्यता पछि लिए पनि हुने कुरामा जोड दिए । साथै मैंले उक्त आग्रह स्वीकारेको खण्डमा अर्काे पक्षबाट विरोध गर्ने साथीहरुको दबावसमेत नआउने बताए । अन्ततः मैंले मञ्जुरी दिएँ ।

नवगठित कार्यसमितिको तर्फबाट बृहत् कार्यक्रमको आयोजना गर्नुपर्ने प्रस्ताव आयो । अन्य साथीहरुले शुद्ध राजनैतिक स्वरुपको कार्यक्रमको आन्तरिक राजनीतिक महत्व हुने भएकाले त्यस्तै कार्यक्रम गर्नुपर्ने धारणा राखे । म भने शुद्ध राजनैतिक भन्दा बौद्धिक, अन्तरक्रियात्मक वा साहित्यिक स्वरुपको बृहत् कार्यक्रमको दीर्घकालीन महत्व रहने हुनाले त्यसले धेरै फाइदा पुग्ने विचारमा अडिग रहें । शुद्ध राजनीतिक संस्कारमा भिजिसकेका साथीहरुलाई यो कुरा मञ्जुर थिएन । त्यस्तै अन्तरक्रिया, प्रशिक्षण आदि कार्यक्रमहरुमा समेत पार्टीभित्रका अन्तरविरोध, असन्तुष्टि, गुटबन्दी लगायतका विषयहरुमा जिज्ञासा राख्दा ‘आफू कुन तहमा छु भन्ने हेक्का राख्ने र त्यसै अनुरुप काम गर्ने’ सल्लाहमात्रै प्राप्त हुन थाल्यो ।

स–साना घटनाहरुको समिश्रणबाट असन्तुष्टिको पहाड नै बन्न थाल्यो । मैंले बुझेको राजनीति र वास्तवमै हुने राजनीतिको बीचमा धेरै फरक रहेछ । यसले मभित्र दिग्दारी पैदा भयोे । अन्य कार्यक्रमहरुमा सहभागी हुने उत्प्रेरणामा ह्रास हुँदै गयो । कम्युनिस्ट पार्टीको सैद्धान्तिक र व्यावहारिक राजनीतिबीचको विरोधाभासको साक्षीमात्रै बसिरहनुपर्ने, आफूभन्दा माथिल्लो तहमा रहनेहरुको विचारमा अन्धभक्ति प्रदर्शन गर्नुपर्ने र आफ्ना जिज्ञासाहरुको समाधानसमेत नहुने अवस्था आइलाग्यो ।

राजनैतिक संस्कृति भनेको अन्धभक्ति, चाकडी, निगाहा र ‘टप टु बटम’मात्रै चल्ने कुरा हो त ? के राजनीतिमा केवल राजनीति बाहेक अरु कुनै कुराको मूल्य छैन ? अहँ, यो हुन सक्दैन । मैंले एकदिन अचानक यस्तै निचोड निकालेँ । यसैबीच विभिन्न कार्यक्रमहरुको लागि दोहोरिएर आउने निम्ताले झनै बोझ थपेजस्तो लागिरह्यो । मलाई बुझाइए अनुसार ‘संसारकै सर्वाेत्तम राजनीतिक सिद्धान्त भएको र सबैभन्दा असल व्यवहार हुनुपर्ने’ कम्युनिस्ट राजनीतिभित्र देखिएको विरोधाभासले कम्युनिस्ट पार्टीको कार्यकर्ता भइरहने इच्छा क्रमशः मर्दै गयो । तरपनि कार्यक्रमको लागि निम्तो आउने क्रम अझै जारी थियो ।

यो वा त्यो बहाना बनाएर कति दिनसम्म तर्किरहने ? आफूलाई भित्रैदेखि दिग्दारी लागिसकेको विषयमा अरुलाई किन ढाँटिरहनु ? आदि प्रश्नहरुको बोझले थिचिरह्यो । यक्तिकैमा वि.सं. २०६८ सालको साउन महिनाको सुरुतिरैको एकदिन ‘फलानो कार्यक्रममा आऊ’ भन्ने सन्देशको प्रत्युत्तरमा आँफैप्रति इमानदार भएर मैंले भनें – “थ्याङ्क यु फर इनभाइटेसन ! सर, वी वील नेभर बी टुगेदर एज सीपीएन क्याडर्स । बेस्ट अफ लक फर योर पोलिटिकल करिअर ।”
(प्रकाशोन्मुख अकथासंग्रह एक टुक्रो जिन्दगी बाट)

(मिर्मिरे मिडिया क्लब स्मारिका-५ मा प्रकाशित)