सपनाको मोल – कविता

[साप्ताहिकमा पढ्नुहोस्]

तिम्रो क्यानडाको पिआर सपना
तिम्रो बाबुको गैरीखेत बिराएर धान रोप्ने सपना
यी दुई सपनाको आयतन कसरी समान हुन सक्छ ?

तिमीलाई देशले केही दिन नसकेको पिरलो
रहर होइन, बाध्यताले विदेशिनु परेको पिरलो
बाबुलाई दमको पिरलो
दम र डिभी, रोपाईं र पिआरलाई
कसले जोख्न सक्छ एउटै तराजुमा ?
कसले भन्न सक्छ कुनचाहिँ मुल्यवान ?

विदेशिनु अघिको तिम्रो सपना
बाबुको सपना
भाई-बहिनीको सपना
इष्टमित्र र साथीभाइको सपना
छिमेकी र तिम्रो गाउँको सपना
तिम्री आमाको सपना र देशको सपना
तिमी कुन सपनाको बाटो पछ्याउँदै छौ ?

तिम्रो आफ्नो
तिम्रो बाबुको
भाई-बहिनीको
इष्टमित्रको
साथीभाइको
आफ्नै गाउँको
छिमेकको
तिम्री आमा र देशको
तिमी कुन सपनालाई आफ्नो भन्न रूचाउँछौ ?
भन मेरो प्रिय मित्र,
कुनचाहिँ सपनाको मोल धेरै छ ?