छड्के: सङ्कटका बेला ‘गङ्नम स्टाइल’

नेपाल राज्य अजीव आकारको छ । यो कहिलेकाहीं अक्टोपसजस्तो देखिन्छ । यहाँ सरकार छ । प्रशासन संयन्त्र छ । निजी क्षेत्र छ । नानाथरी राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था छन् । राज्यको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, सातौं… अनेक अंगहरु छन् ।

बडा विचित्र छ । जब संकट आइपर्छ, सबैले राज्य र सरकारको खोजी गर्छन् । यतिसम्म कि मन्त्रीहरु स्वयं राज्य खोइ ? सरकार खोइ ? भनेर औंलो ठड्याउँछन् । प्रतिपक्षको त जन्मजात गुण नै हरपल सरकार खोज्नु हो । उसले संकटका बेला बत्ती नै बालेर सरकारको खोजी गर्छ । सबै सरकारी निकाय र संयन्त्रहरु क्रियाशील छन् । तरपनि यहाँ राज्य छैन, सरकार छैन । सबैको गुनासो यही छ ।

अन्यत्रजस्तै नेपाल सरकारको आफ्नै कर्मचारीतन्त्र छ । शिक्षकहरु छन् । प्रायः शिक्षकहरु राजनीतिक दलका स्थानीय स्तरका कार्यकर्ताभन्दा माथि उठ्न सकेका छैनन् । कर्मचारीतन्त्र लुरे छ । त्यसले माथिको आदेशबिना ढुक्कले सास फेर्नसमेत सक्दैन । माथिको आदेशले जता चलाउँछ, त्यतै चल्छ । माथिको आदेशले जे गराउँछ, त्यही गर्छ । माथि आदेश दिने ठाउँमा हुनेहरुको योग्यताको बयान हजार जिब्रा भएका शेषनागले मात्रै गर्न सक्छन् ।

सञ्चार जगत राज्यको चौथो अंग हो । राज्य खोइ ? सरकार खोइ ? विपतका बेला चौथो अंगले आँफैलाई बिर्सिएर आँफैतिर औंलो ठड्याउँछ । विदेशी परम मित्रहरु ऐनमौकामा बोर्डर–रिसर्च र तीर्थयात्राका प्याकेज बनाउँछन् । भुइँचालोको इपिसेन्टरभन्दा सत्ताइस कोश पर तिनीहरुको ‘रेस्क्यू इपिसेन्टर’ भएको कुरो संसारले भेउ पाइसक्छ । तर उनीहरुको घैंटोमा घाम लाग्दैन ।

घगडान सामाजिक अभियन्ताहरु राहत वितरणको ‘सेल्फिस’ फोटो सामाजिक सञ्जालभरि फैलाएर मार्केटिङ गर्छन् । आफ्नै संस्थाको नाराले तिनलाई कुरीकुरी गर्छ । निजी क्षेत्र सामान्य अवस्थामा चुस्त–दुरुस्त सेवा प्रवाह गर्छ । विपत्तिको बेलामा भने मानवीय त्रुटिले गर्दा सामाजिक उत्तरदायित्वमा बिजेनस पोलिसी मिसिन्छ । त्यो कुरो सगर्व घोषणा गरेर तिनले आफ्नो जात जनाउँछन् ।

ज्योतिषी बा’हरु हवन नगरेकाले भुइँचालो आयो भनेर लोक हसाउँछन् । भुइँचालो गएको तीन दिन भैसकेपछि ‘कोटिहोम गर्दा भुइँचालो रोकिन्थ्यो’ भन्ने भविष्यवाणी गर्ने पण्डितजीको अनुहार टिभीमा हेरेपछि दर्शकको मुख लाजले रातो हुन्छ । दश केजी चिउरा आफ्नै हातले वितरण गरेको दशवटा फोटो खिचेर ल्याउनेहरुले सरकारी विपत कोषबारे जोक बनाउँछन् । यति हुँदापनि सरकारले पिडितका नाममा दिएको एक पैसो पनि चुहावट हुँदैन भन्ने आम विश्वास दिलाउन सक्दैन ।

खै कसले हो कुन्नि, हाम्रा माननीयज्युहरुलाई एकदुई थान पाल बुझ्न लाइन बस्ने आदेश दिन्छ । माननीयज्युहरु त्वम् शरणम् गर्छन् । अनि कोकोहोलो मच्चिन्छ ।

एकजना पजेरोधारी महामानव राहत संकलन गर्न जान्छन् । राहत लिने र दिनेबीच यसप्रकार संवाद चल्छ – “म आँफै आइसकेपछि पनि राहतमा सोना मन्सुली दिने ? दश बोरा जिरा मसिनो र अरु सामान मिलाएर राखिदेउ ।“ हेर्दाहेर्दै राहतको जिरा मसिनो बोकेर पजेरो हुइँकिन्छ । भुइँचालो आउनासाथ पजेरोधारीले दश बोरा जिरा मसिनो चामल राहत पाएको देखेपछि बेलैमा पजेरो जोड्न नसकेको चिन्ताले भद्रगोल शर्माको ओठतालु सुक्छ ।
नारायण हरीहरी !

[सचेतना प्लसत्रैमासिकमा प्रकाशित]