सरकार र भुइँचालो – कविता

[खबरैखबर डटकममा पढ्नुहोस्]


वर्षौंपछि
अचानक आयो भुइँचालो
र,हल्लाइदियो पूरै देश
छिनभरमै सिध्यायो महल,
अहम् र अहंकारहरु ।

सुतेकाहरु जागे
जागेकाहरु हिंडे
हिंडेकाहरु दौडिए
अस्तित्वको खोजीमा

फेरि एकपल्ट
संसारले सम्झियो
कच्चा रहेछ जिन्दगी
साच्चै सस्तो रहेछ जिन्दगीको मुल्य ।

सरकार पनि त झस्कियो
जसोतसो सम्हालियो
र, जोगायो आफुलाई ।

गुमाएर पनि
घर–बास र आफ्नाहरु
पुछेर आँसु
भुलेर पीडा
सम्हालियो देश
मुर्झाएन ।

भुइँचालो रोकियो
तर,
बारम्बार हल्लिरह्यो सरकार
र, समाइरह्यो भित्तो
अस्तित्व रक्षाका खातिर ।

अचेल फेरि
बेमौसमी कम्पनले हैरान छ देश
छिनछिनमा
अस्तित्वको हिसाब गर्दै
समाइरहेछ भित्तो
भुइँचालो रोकिएपछि पनि
हल्लिरहेछ सरकार !