मान्छे जन्मने र मर्ने कुरा यौटा अद्भुत महासंयोग हो । यसबारेमा चिन्ता लिइराख्नुको कुनै औचित्य छैन । यिनै दुई घटना जीवनको आदि र अन्त्यका किनारा हुन् ।
मलाई यस्तो लाग्छ, जीवन मान्छेको आदिदेखि अन्त्यसम्मको समय हो भने जीवनका धेरै ससाना घटनाहरुको संयोग नै जिन्दगी हो ।
जीवन र जिन्दगी एउटै कुरा होइन रहेछ ।
यो संसारमा अस्तित्वको सुरुवात हुनेबित्तिकै म गाउँले भइसकेको थिएँ । जबकि त्यतिबेला कान्छो हुने निश्चयसमेत भइसकेको थिएन ।
गाउँले हुनु र परिवारको कान्छो सदस्य हुनु जीवनको विषय नभएर जिन्दगीका कुरा रहेछन् ।
जीवन निश्चित छ । तर, गाउँले हुँदा र नहुँदा, कान्छो हुँदा र नहुँदा जिन्दगीमा धेरै फरक पर्दोरहेछ ।
आकाश खस्ने हल्ला चलेकै साल मैले हल्लाहरुमाथि विश्वास गर्दोरहेछु भन्ने चाल पाएको थिएँ ।
अर्को साल सनु, रामु, यादव र म लगायतका भुराहरु एउटा लाठेमाथि जाई लागेर उसलाई जितेपछि एकता नै बल हो भन्ने पुष्टि भएको थियो ।
केही महिनापछि दिउँसै आकाशमा एउटा चम्किलो वस्तु देखियो । विज्ञान विषयको शिक्षकले त्यो चिहानडाँडामा राखिएको ऐनाको ‘रिफ्लेक्सन’ भएको दाबी गर्नुभयो ।
विज्ञानले भ्रमहरु चिर्न सक्छ भन्ने रहस्य त्यतिबैले खुलेको थियो । चार/पाँच कक्षा पढ्ने बेला विभिन्न प्रतियोगिताहरु जितेर सबैलाई चकित पारियो ।
त्यसपछि मात्रै हामी कमजोर/गरीब भनाउँदा मान्छेहरु सबै क्षेत्रमा गरीब हुँदा रहेनछौं भन्ने लागेको हो । जिन्दगी यसैगरी अघि बढ्दैछ ।
आखिर जीवनको किनारा भेट्नु नै मान्छेको सबैभन्दा महत्वपूर्ण कर्म हो !