उर्वशी अनि ‘सरकार’ को सिन्दुर

सेतोपाटी डटकममा पढ्नुहोस्…

राजधानी शहरमा हजारौं पैदल यात्रु र हजारौं सवारीसँग दैनिक भेट हुन्छ। ती सबैले उत्तिकै महत्व पाउँदैनन्।

राजधानी शहरमा हजारौं पैदल यात्रु र हजारौं सवारीसँग दैनिक भेट हुन्छ। ती सबैले उत्तिकै महत्व पाउँदैनन्। सबै आँखामा अडिनु सम्भव छैन। जसरी सिंहदरबारनेर भेटिएको त्यो स्कुटर मेरो मनमा रह्यो।

शिशिर यामको धमिलो बिहान। सिंहदरबारनेरको मोडमा पुग्दा विपरित दिशाबाट आएको एउटा स्कुटरमा चिने जानेको कोही सवार भएजस्तो लाग्यो। नियालेर हेरें तर ठम्याउन सकिनँ। कौतुहल बोकेर हिडिँरहें। मध्यान्हसम्म अलमल भएपछि अन्तत: निचोड निस्कियो, त्यो व्यक्ति प्रकृति हुनुपर्छ। अरु कोही पनि हुनसक्थ्यो तर उसँग हुबहु मिल्ने हुलिया। साथीहरु मार्फत थाहा पाएँ, ऊ प्रकृति नै हो। अचेल सिंहदरबारमा जागिरे छ रे।

प्रकृति नेपाल, मेरो स्कुले समकक्षी। खासमा सुरुमा ऊ प्रकृति थिइन। न्वारानको नाम-लालकुमारी शर्मा। एसएलसी परीक्षाको फाराम भर्ने बेला आफ्ना नजिकका साथी विद्या, सुनिता र मैयाँसँग मात्रै सल्लाह गरेर नाम बदलेकी थिर्इ उसले। त्यसपछिको समय हामीले प्रकृति भनी बोलाउन थाल्यौं। 

आमाबाबुलाई नयाँ नाम मन परेको थिएन। उसले उच्चारण गर्न असजिलो, शास्त्रीय र पारिवारिक दुवै दृष्टिले अनुपयुक्त नाम रोजेकी थिर्इ। ‘आखिर बिहेबारी गर्ने बेला, धार्मिक अनुष्ठान, पूजाआजाको बेला न्वारानको नाम नै चाहिन्छ। किन नक्कली नाम राख्नुपर्‍यो?’, यसप्रकार आमाले बारम्बार सम्झाउने कोशिश गर्दा पनि ऊ मानेकी थिइन्। बाबुचाहिँको गुनासो कम्तीमा थरसम्म परिवर्तन नगरेको भए हुने भन्ने थियो। तर उसले कसैलाई टेरिन। बरु ३/४ दिनसम्म फुपुदिदीको घरमा गएर बसी। फर्केर आएपछि भनि दिई-अब फाराम जिल्ला पुगिसक्यो। फिर्ता गर्न मिल्दैन। उसको जिद्दीले जित्यो। आमाबाबुले स्वीकार्न कर लाग्यो।

सुरुमा प्रकृति शब्दले सम्बोधन गर्दा ऊ आफैले समेत असजिलो मान्ने गर्थी। बिस्तारै बानी पर्दै गयो। अन्तत: उसको नाम विधिवत् नै प्रकृति नेपाल कायम भयो। प्रकृतिका जेठाबा पञ्चायत कालका सरकारी जागिरे थिए। गाउँका जान्ने सुन्नेहरुका अनुसार उनी पञ्चायतकालका पुलिस थिए। जागिरमा रहँदाका बखत उनीसँग हतियारको नाममा यौटा गजबको लौरो हुन्थ्यो। सरकारी लौरो बोकेर नै पेन्सन पाकेको थियो। त्यसैले समकालीनहरु उनलाई लौरे भन्थे। उनको पछाडि प्राय: सबैले ‘लौरे बा’, ‘लौरे दाइ’ भनी सम्बोधन गर्थे। सामुन्नेमा भने लौरोको प्रसंग झिक्ने आँट कसैको थिएन। जेठाबाको जागिरे जीवन र लौरो त्यो गाउँमा दन्त्यकथा जस्तै बनेको थियो। यो विषय सबैलाई थाहा थियो। तर यथार्थ बुझ्ने हिम्मत कसैसँग थिएन। 

गाउँमा जेठाबाको रवाफसामु कसैको केही चल्दैनथ्यो। उनलाई नरुचाउनेहरुले पनि चुपचाप उनका हर्कतहरु पचाइदिन्थे। जिम्मावाल खानदानको मान्छे, गाउँभरिमा स्रोत साधनमा सबैभन्दा अगाडि र उमेरमा समेत पाका ठूलोबाको रवाफ बेग्लै थियो। गाउँभरिमा सरकारी जागिर गरेको मान्छे दोस्रो कोही थिएन। ठाउँ/कुठाउँ, जायज/नाजायज सबै प्रसङ्गमा जेठाबा कड्किन्थे–राजाको सिन्दुर लगाएको मान्छे पो हुँ म। तिमी ठेट्नाहरुले के जानेका छौं? उनको राय, निचोड नै अन्तिम हुन्थ्यो। प्रकृति जेठाबाको रवाफबाट निकै प्रभावित थिई। त्यसैले सानैदेखि उसको लक्ष्य-सरकारी जागिर। 

दश कक्षामा पढ्ने साल ठूलो-दशैंमा जेठाबाले आशिष दिए-मनले आँटे ताकेको पुगोस्। कुलको नाम राखेस्। डाक्टर बनेस्। उनले फलाक्दै गर्दा बीचैमा प्रकृतिले विमति जनाइ-जेठाबा म डाक्टर हुन्न। ठूलो मान्छे हुन डाक्टर नै बन्नुपर्छ भन्ने छैन। ‘उसो भए के हुन्छेस् त?’, प्रश्न भुइँमा झर्न नपाउँदै जवाफ दिई–म हाकिम हुन्छु। ‘केटी जब्बर छ। यसले मेरो बाटो पछ्याउने भई’,यस्तै फुस्फुसाउँदै जेठाबाले आशिष थपिदिए-“ल, हाकिम हुनु। सरकारको सिन्दुर लगाउनु चानेचुने कुरा होइन।’ यसरी प्रकृतिको उदेश्यमा लालमोहर लाग्यो। कथंकदाचित् जेठाबाले अस्वीकार गरिदिएको भए उसको जीवनको लक्ष्य फरक हुन पनि सक्थ्यो।

प्रकृति पढाइमा मध्यम थिई। कुनै कक्षा दोहोर्‍याउनु परेन। गाउँकै कलेजबाट बाह्र कक्षा पास गरेपछि राजधानीमा स्नातक पढ्ने निधो भयो। ऋणधन गरेर गर्जो टरेकै थियो। जेठी छोरीलाई उच्चशिक्षाको लागि राजधानी पठाउने कुरामा कसैले विमति राखेन। काठमाडौंमा स्नातकको पढाइ सुरु गरी। स्नातक प्रथम वर्षको अन्त्यतिर आइपुग्दा आफ्नो भित्री इच्छा पूरा गर्ने सम्भावनाको खोजी भयो। सरकारी जागिरको लागि लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्थ्यो। राजधानीमा परीक्षाको तयारी गर्ने ठाउँ धेरै थिए। दुईचार हजार शुल्क तिरेर तयारी गर्नुपर्थ्यो। अनुभवी सरकारी जागिरेहरुले कक्षा लिन्थे। अलिकति चलाख र मेहेनती मान्छेलाई गाह्रो थिएन। यी सबै कुरा बुझिसकेपछि उसले त्यही बाटो पछ्याई।

परीक्षाको तयारी गरिरहँदा हिउँदमा बिहेको कुरा चल्यो। उसले भनिदिई–परीक्षाअघि कसैगरी नगर्ने। त्यसपछि सोचौंला। वैशाखमा उसको परीक्षा थियो। जेठ महिना, जेठो सन्तानको बिहे नगर्ने चलन। त्यसैले उसको बिहे असारमा हुने भयो। उसको लक्ष्यप्रति जेठाबाको समर्थन थियो। त्यसैले परीक्षाअघि बिहे नगर्ने अडानमा टिक्न खासै गाह्रो भएन। लक्ष्य पूरा गर्न सहयोग गर्ने शर्तमा मात्रै बिहेको लागि मञ्जुरी दिई। प्रकृतिको इच्छा बमोजिम असार महिनामा विधिपूर्वक बिहे सम्पन्न भयो। 

बिहेपछि उसलाई सधैं एउटा कुराको डर थियो, परिवारले लक्ष्य प्राप्तिमा सहयोग गर्दैन कि? यद्यपि परिवारले उसको लक्ष्य हासिल गर्न कुनै असहयोग गरेन। तर त्यही साल भाग्यले ठग्यो। बिहे गरेकै साल सरकारी जागिरको ढोका खुलेन। ऊ फेल भई।प्रकृति हरेस खाने केटी होइन। बिहेपछि घरको कामधन्दा र सम्पूर्ण जिम्मेवारी पूरा गरेरै पनि उसले लक्ष्यप्राप्तिको लागि परीक्षाको तयारी गरिरही। दोस्रो पटकको मेहनत खेर गएन।

बिहे भएको पन्ध्र महिनामा उसले सरकारी सिन्दुर लगाई। ऊ सुब्बा भई। जेठाबालाई मनपर्ने पेसा सुरु भयो। जेठाबाको जस्तै रवाफिलो जीवन जिउने बाटो सुरु भयो। सुरुमा उसलाई यस्तै लागेको थियो।  जागिर सुरु गरेको ठीक एक महिना पन्ध्र दिनमा छोरी जन्मी। छोरीको नाम उर्वशी रह्यो। उसलाई छोरीको थरपनि आफ्नो जस्तै बनाउने इच्छा नभएको होइन। प्रस्ताव नराखेकी पनि होइन। तर जतिसुकै पढालेखा, बुझकी परिवार भए तापनि त्यो कुरा सम्झाउन सकिन। परिवारको निर्णयले जित्यो। बाबुकै थर राखियो–उर्वशी पौडेल।

सिंहदरबारनेर देखेको करिब एक महिनापछि प्रकृतिसँग भेट भयो। उसले बाह्र कक्षा सकिएर हामी छुटेपछिका हरेक घटनाको बेलीबिस्तार लगाई।

भेटमा सामान्य औपचारिकतापछि मैले सोधें–यतिका वर्षपछि भेट्दा पनि तिमीमा केही फरक आएजस्तो लाग्दैन। बीए पढ्यौ, बिहे गर्‍यौ, जागिरे भयौ तिमी कत्ति पनि परिवर्तन भएकी छैनौ? प्रश्न सकिनासाथ ऊ बोली, ‘हो, म बदलिएकी छु। केटी थिएँ, आइमाई भएकी छु। कसैकी श्रीमती, कसैकी बुहारी, कसैकी भाउजु, देउरानी, जेठानी इत्यादि अनेक सम्बन्धको जालोमा जेलिएकी छु। उर्वशीकी आमा भएकी छु। जेठाबाले भनेजस्तै सरकारको सिन्दुर लगाएकी छु। तर यसको मतलब यो नठान्नु कि म साथीहरुसँग दूरी कायम राख्नुपर्ने, फरक ढंगले व्यवहार गर्नुपर्ने गरी बदलिएकी छु। उसले यत्ति भनिसकेपछि संकोच मान्नुपर्ने ठाउँ बाँकी रहेन। एघार/बाह्र कक्षा पढ्ने बेलामा जस्तै आत्मीय कुराकानी भयो। निसंकोच प्रश्नोत्तर, छलफल चलिरह्यो।

प्रकृति, सबै सरकारी जागिरे जेठाबा जस्तै हुन्छन् त? ‘कहाँ हुनु, जेठाबाको जस्तो रवाफिलो जिन्दगी त हाकिमको पनि नहुँदो रहेछ।’ उसले उत्तर दिई,’प्रजातन्त्र आउनुअघि जस्तो त कहींपनि छैन रे। झन् गणतन्त्र आएदेखि थोरै बद्‌मास कर्मचारीको कारण सबैजनाप्रति नकारात्मक सोच हाबी हुँदै गएको छ। जेठाबाले पनि भन्दै हुनुहुन्थ्यो- प्रजातन्त्र, गणतन्त्र के-के जाति आएपछि झन् भताभुङ्ग भयो, अघिजस्तो केहीपनि छैन भनेर। हामीजस्ता साना कर्मचारीलाई राजधानीमा टिक्नै गाह्रो पो छ।’ त्यसोभए यस्तो जागिरमा किन आएकी त?, ‘मेरो आफ्नै रहरले हो। म दु:खी छैन।’

काठमान्डुको चिसो बिहानीमा सानी छोरीलाई अगाडिपट्टि बोकेर स्कुटर हाँक्दै गर्दा सिंहदरबारनेर भेटिएकी प्रकृतिको बारेमा मैंले सोधें, तिमी सधैं यस्तै गर्छ्यौ? किन? ‘एकजनाको जागिरले मात्रै खर्च चलाउन मुस्किल हुन्छ। परिवारमा उर्वशीको हेरचाह गर्ने मान्छे कोही छैन। सुत्केरी भएको ३ महिनादेखि अफिस आउनुपर्ने नियम छ। अचेल सिंहदरबारभित्रै ‘बेबी केयर सेन्टर’ छ। त्यसले गर्दा अलि सजिलो भा’छ। नत्र जागिर कि छोरी एक रोज्नुपर्थ्यो। सरकारी सिन्दुरको कारण उर्वशीले दु:ख पाई। यो जागिर नभएको भए कम्तीमा एक वर्ष समय उसको लागि दिन्थें होला।

अचेल मान्छेहरु महिला र पुरुष समान भएकाले समान जिम्मेवारी, समान अधिकारको कुरा गर्छन्। प्रकृतिले नै महिलाको लागि फरक जिम्मेवारी दिएको छ। महिलाले सारा सांसारिक झमेलाहरु व्यहोरेर पनि थप मातृत्वको जिम्मेवारी लिनुपर्छ। यो प्राकृतिक सत्य हो। यसमा महिलालाई कसैले पनि सघाउन सक्दैन।  म उर्वशीकी आमा हुँ। त्यसैले झरी, आँधी, हुरी, बतास, तुषारो, कुहिरोभित्र सबैथोकलाई छिचोल्दै मैले उसलाई डोर्‍याउनुपर्छ। यो कुरामा मैले कसैको सहयोगको अपेक्षा गर्नु व्यर्थ छ।’

ऊ धाराप्रवाह बोल्दै गर्दा अचानक केही सम्झिएझैं रोकिइ। टेबलमा अलिपर राखेको मोबाइल फोन तानेर हेरी। ओहो, तीन बजिसकेछ! उर्वशीलाई लिन जानुपर्छ। फेरि कुनै दिन बसौंला है। तिमीलाई भेटेर धेरै खुसी लाग्यो। प्रकृतिले सामान्य औपचारिकतासँगै वार्तालाप टुग्याउँदै उठी। हामी बिदा भयौं।

सरकार र उर्वशीको दोहोरो जिम्मेवारी पूरा गर्दै अघि बढिरहेकी प्रकृति एकैछिनमा अदृश्य भई। मेरो मानसमा सरकारको सिन्दुर, सिंहदरबारभित्र हुर्कँदै गरेकी उर्वशी, सिंहदबारनेर कुहिरोभित्र दौडिरहेकी प्रकृति, राजधानीमा सामान्यजनको दैनिकी, लौरे बा इत्यादि दृश्यहरु तँछाड मछाड गर्दै दौडिए। मन अशान्त भयो।

***

फागुन ८, २०७२

आदिप्रेम

बटुलेर टालाटुली

जोरेर दुईचार ढुङ्गा

उहिल्यै बनेथ्यो  

हाम्रो सानो घर

लालुपातेको बोटमुनि  

ठूलोपाटामा मकै छर्नुभन्दा

एकदिन अघिमात्रै

सरिएथ्यो बसाइँ  

कोइरालोको रुखमुन्तिर  

तिमी आफैले जन्माएका  

टालाटुलीकै मनग्गे सन्तानहरु

स्वघोषित सम्बन्ध  

र, जिन्दगीका उकाली-ओरालीको नक्‍कल

माटोकै दालभात, तरकारी

माटोकै ओछ्यान

झ्यालढोका बिनाकै

सानो घर र सानो संसार

ह्याप्पीनेश इन्डिकेटर बन्नुअघि नै हो

तिमी र म खुशी हुन जानेको

पुतली र जूनकिरीलाई  

पछ्याउँदा  लागेका अनेक घाउ

कसैले थाहा नपाई निको भएजस्तै

माछापुच्छ्रे हिमाल र आँधीखोलाबाहेक  

अरु कसैले नबुझ्ने गरी बढेको हो स्नेह

क्यालेन्डर बदलिँदा पनि

उस्तै देखिएको मात्रै हो

तर उहिल्यै,

प्रेम दिवस गाउँ नपस्दै  

हुर्किएको हो हाम्रो माया  

गाउँकै धुलो-माटोमा ।

Scroll to Top